काठमाडौं- दक्षिण कोरियामा कोरोनाभाइरसबाट एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भएका छन्। कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोन फैलिन थालेपछि संक्रमितहरुको सङ्ख्या अत्यधिक धेरै हुदै गएको हो।
सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सवैभन्दा धेरै सङ्क्रमित भएका छन्। देशभरी कुल ४९ हजार ५६७ जना कोरोनाभाइरसबाट संक्रमित भएको कोरिया रोग नियन्त्रण तथा न्युनिकरण विभागले जनाएको छ। यससँगै कोरोनाभाइरसबाट अहिलेसम्म कुल संक्रमितको सङ्ख्या ११ लाख ३१ हजार २३९ पुगेको छ।
अघिल्लो दिन भने ३६ हजार ७१९ जना कोरोनाभाइरसबाट संक्रमित भएको विवरण सार्वजनिक भएको थियो। अघिल्लो दिनभन्दा झण्डै १३ हजार बढी संक्रमित भएको देखिएको छ। यसका आधारमा दैनिक संक्रमितहरुको बृद्धिदर पनि अत्यधिक धेरै भएको छ।
नयाँ संक्रमित मध्ये ११ हजार ६३० जना राजधानी सोलका मात्रै रहेका छन्। कुल नयाँ सङ्क्रमित मध्ये २८५ जना गम्भीर अवस्थामा रहेका छन। जवकी अघिल्लो दिन नयाँ संक्रमितमध्ये १७ जना मात्रै गम्भीर अवस्थामा रहेका थिए।
पछिल्लो एक दिनमा दक्षिण कोरियामा २१ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने कुल मृतकको सङ्ख्या छ हजार ९४३ पुगेको छ।