काठमाडौं- विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ४० करोड नाघेको छ। मंगलबार एकैदिन विश्वमा २६ लाख १४ हजार ८ सय जना नयाँ संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या ४० करोड नाघेको हो। वल्डोमिटर्सको तथ्याङ्क अनुसार विश्वमा हालसम्म ४० करोड १२ लाख ८८ हजार ३८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ।
संक्रमितमध्ये ३२ करोड ११ लाख २० हजार २७० जना निको भइसकेका छन्। हालसम्म कोरोना संक्रमणका कारण ५७ लाख ८३ हवा १८२ जनाको मृत्यु भएको वल्डोमिटर्सको तथ्याङ्कले देखाएको छ। विश्वमा पहिलोपटक कोरोना भाइरस सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको थियो। त्यसपछि यो विश्वभर फैलिएको हो।
वल्डोमिटर्सका अनुसार विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित अमेरिकामा रहेका छन्। अमेरिकामा हालसम्म ७ करोड ८५ लाख ५६ हजार १९३ जनामा कोरोना पुष्टि भइसकेको छ। अमेरिकापछि कोरोना संक्रमितको दोस्रो ठूलो संख्या भारतमा रहेको छ। भारतमा हालसम्म ४ करोड २४ लाख १० हजार ९७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।