काठमाडौं- दक्षिण कोरियामा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्या अहिलेसम्मकै सवैभन्दा धेरै भएको छ। सरकारी अधिकारीहरुले दिएको जानकारीनुसार पछिल्लो एक दिनमा दक्षिण कोरियामा २० हजार २७० जना नयाँ संक्रमित थपिएका हुन्।
कोरोना भाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनको संक्रमण तिव्र रुपमा फैलिएकाले दैनिक संक्रमितको संख्या अहिलेसम्मकै धेरै भएको जनाइएको छ। यसअघि एक दिनमा १८ हजार ३४२ जना कोरोना भाइरसबाट संक्रमित भएको विवरण सार्वजनिक गरिएको थियो। दैनिक संक्रमितको संख्या २० हजार नाघेको बुधबार पहिलो पटक हो।
दक्षिण कोरियामा कोरोना भाइरसबाट अहिलेसम्म संक्रमितको कुल संख्या आठ लाख ८४ हजार ३१० पुगेको छ। नयाँ संक्रमित मध्ये चार हजार १८६ जना राजधानी सोलमै भेटिएका हुन्। भाइरसको फैलावट ग्रामिण क्षेत्रमा पनि धेरै भएको अधिकारीहरुले जनाएका छन्।
अहिले संक्रमित अवस्थामै रहेकाहरु मध्ये २७८ जनाको अवस्था गम्भीर रहेको र उनीहरुको उपचार भइरहेको जनाइएको छ। कोरियामा पछिल्लो एक दिनमा कोरोनाका कारण १५ जनाको मृत्यु भएको छ। योसँगै अहिलेसम्म कुल मृतकको संख्या छ हजार ७८७ पुगेको छ।