काठमाडौं- भारतमा कोरोना भाइरसका कारण थप दुई लाखभन्दा बढी संक्रमित भएका छन्। सरकारी अधिकारीहरूले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा दुई लाख नौ हजार ९१८ नयाँ संक्रमित भएका हुन्।
संघीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो एक दिनमा दुई लाख ६२ हजार ६२८ कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन्। यस अवधिमा नयाँ संक्रमित भन्दा संक्रमणमुक्त भएकाको सङ्ख्या धेरै भएकाले सक्रिय संक्रमितको संख्या घट्दै गएको हो।
मन्त्रालयले १८ लाख ३१ हजार २६८ जना अहिले पनि संक्रमित अवस्थामै रहेको जनाएको छ। भारतमा कोरोना भाइरसबाट अहिलेसम्म चार करोड १३ लाख दुई हजार ४४० संक्रमित भएका छन्।
पछिल्लो एक दिनमा भारतमा ९५९ जनाको कारोना भाइरसका कारण मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ। यससँगै कूल मृतकको संख्या चार लाख ९५ हजार ५० पुगेको छ।