काठमाडौं- जापानमा कोरोनाभाइरस विरुद्धको फाइजर खोप ५ देखि ११ वर्षसम्मका बालबालिकालाई पनि लगाइने भएको छ। जापानको स्वास्थ्य मन्त्रालयले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई पनि फाइजार खोप लगाउने निर्णय शुक्रबार गरेको हो। कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या बढ्दै गएको र बालबालिकामा जोखिम धेरै देखिएपछि सरकारले यस्तो निर्णय गरेको अधिकारीहरूले जनाएका छन्।
पछिल्लो विवरण अनुसार ५ देखि ११ वर्षसम्मका बालबालिका जापानमा ८० लाख रहेका छन भने उनीहरूलाई आगामी मार्चदेखि खोप लगाउन थालिने छ। अमेरिकी र जर्मनी कम्पनीले सहकार्य गरेर विकास गरेको यस खोप तुलनात्मक रुपमा अरुभन्दा विश्वसनीय र प्रभावकारी रहेको जापानका सरकारी अधिकारीहरूको बुझाई छ।
जापानमा १२ भन्दा बढी उमेरका नागरिकलाई भने यसअघि नै खोप उपलब्ध गराइसकेको छ। विभित्र कारणले खोप लगाउन छुटेकाहरूलाई पनि जापान सरकारले खोप लगाउन उत्प्रेरित गर्ने गरेको छ।
कोरोनाभाइरसका नयाँ नयाँ भेरियन्ट आइरहेकाले त्यसबाट जोगाउनका लागि खोप नै सबैभन्दा भरपर्दो र उपयुक्त उपाय भएकाले खोप लगाउने निर्णयमा पुगिएको जापानका मन्त्री नोरिको होरिउचीले जानकारी दिए।