काठमाडौं- भारतमा गत २४ घण्टामा एक लाख ५९ हजार ६३२ जनामा कोरोना भाइरस संक्रमित थपिएको केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले जनाएको छ। योसँगै भारतमा कोरोना सुरु भएदेखि हालसम्म तीन करोड ५५ लाख ८ हजार सङ्क्रमित भएको मन्त्रालयको भनाइ छ।
हाल यहाँ तीन हजार ५२३ जना ओमिक्रोनका संक्रमित रहेको मन्त्रालयले आइतबार जानकारी दिएको छ। भारतमा अहिले सक्रिय संक्रमितको संख्या पाँच लाख ९० हजार ६११ रहेका छन्।
गत २४ घण्टामा भारतमा ४० हजार ८६३ जना कोरोनाबाट मुक्त भएका छन्। यसैसँगै कोरोना मुक्त हुनेको कुल संख्या तीन करोड ४४ लाख ५३ हजार ६०३ जना पुगेको मन्त्रालयले जनाएको छ।
सोही अवधिमा थप ३२७ को कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ। यसैसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउने व्यक्तिको संख्या चार लाख ८३ हजार ७९० छ पुगेको मन्त्रालयले थप जानकारी दिएको छ।
भारतमा हालसम्म ६९ करोड ३४ हजार भन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ।