काठमाडौं- विश्व स्वास्थ्यले ओमिक्रोन भेरियन्टका कारण तिव्र रुपमा फैलिरहेको कोरोना संक्रमणले विश्वभरको स्वास्थ्य सेवामा दबाब बढेको जनाएको छ।
संगठनका प्रमुख डाक्टर टेड्रोस अदनोम घेब्रेयियसले जेनेभामा एक पत्रकार सम्मेलन गर्दै ओमिक्रोनका कारण बीरामी डेल्टा भेरियन्टको तुलनामा कम गम्भीर देखिए पनि यसलाई हल्का रुपमा लिने गल्ती गर्न नमिल्ने उल्लेख गरेका छन्।
उनले भने, 'ओमिक्रोन भेरियन्ट डेल्टाको तुलनामा कम खतरनाक छ। विषेश गरि ति मानिस जसले खोप लगाइसकेका छन्। तर यसको अर्थ यसलाई कमजोर रुपमा लिन मिल्दैन। पहिलाको जस्तै ओमिक्रोनका कारण पनि मानिसहरु अस्पताल भर्ना भइरहेका छन्।'
उनले यसपटक संक्रमणको सुनामी तिव्र रुपमा बढिरहेको बताएका छन् र यसको कारण स्वास्थ्य सेवामा दबाब बढिरहेको उनको भनाइ छ। विश्वभरका अस्पतालहरुमा बिरामीको चाप बढिरहेको छ।