काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरसको डेल्टा र ओमिक्रोन भेरियन्ट मिलेर संसारमा कोभिड–१९ को नयाँ संक्रमितको खतरनाक सुनामी ल्याइरहेको बताएको छ।
डब्लूएचओका प्रमुख टेडरोस एडनोम गेब्रियासिसले भनेका छन्- 'यस्तो समय आएको छ जब अमेरिका र युरोपमा कोरोना संक्रमितको संख्यामा रेकर्ड स्तरको वृद्धि भइरहेको छ।'
गेब्रियासिसले भने, ‘विश्वभरिका स्वास्थ्य प्रणाली पहिले नै आफ्नो क्षमताभन्दा अघि बढेर काम गरिरहेका छन्। त्यसपछि डेल्टा र ओमिक्रोन जस्ता दुई खतरापूर्ण संक्रमणको आंकडा कीर्तिमानी उचाइसम्म पुुग्ने छ। यसले अस्पताल भर्ना हुने दर र मृत्यु दर बढ्ने छ।’
डब्लूचएओका प्रमुख वैज्ञानिक सौम्या स्वामिनाथमका अनुसार उपलव्ध खोप ओमिक्रोनको बिरुद्धमा अझै प्रभावकारी रहँदै आएको छ। शरीरको विद्यमान टी सेल इम्युनिटी नयाँ भेरियन्टसँग लड्न सक्छ।
उनले भनिन्,‘खोप अझैपनि प्रभावकारी प्रमाणित भइरहेको छ। यद्यपि फरक–फरक खोपको प्रभाव फरक–फरक छ। डब्लूएचओको आपतकालिन प्रयोग सूचीमा रहेका सबै खोप अधिकांश गम्भीर बिमारी रोक्न र डेल्टा भेरियन्टसँग बिरुद्धमा सुरक्षा प्रदान गर्नमा सक्षम रहँदै आएका छन्।
फ्रान्समा प्रत्येक सेकेन्डमा दुई जना पोजिटिभ
फ्रान्समा २४ घन्टाको अवधिमा कुल २ लाख ८ हजार नयाँ संक्रमित थपिएका छन्। ओमिक्रोन संक्रमितको छुट्टै जानकारी भने दिइएको छैन।
फ्रान्सका स्वास्थ्य मन्त्री ओलिभर वेरनले भने,‘यतीका संक्रमित देखेर हामी हामी हैरान भएका छौँ। यसको मतलब यो हो कि प्रत्येक सेकेन्डमा हाम्रो देशमा दुई मानिस पोजिटिभ आएका छन्।’ डब्लूएचओका अनुसार पछिल्लो सात दिनमा कोभिड–१९ का संक्रमितमा ११ प्रतिशत वृद्धि भएको छ।