काठमाडौं- भारतमा कोरोना भाइरसबाट थप छ हजार ३५८ संक्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ। गत २४ घण्टामा थपिएका संक्रमितहरु मध्ये ६५३ जना ओमिक्रोन भेरियन्टका रहेका छन्।
भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या ७५ हजार ४५६ रहेको छ। अहिले संक्रमित अवस्थामै रहेकाको सङ्ख्या कूल संक्रमितको सङ्ख्याको ०.२२ प्रतिशत मात्रै रहेको मन्त्रालयले जनाएको छ। सक्रिय संक्रमितको यो संख्या सन् २०२० मार्चपछि सब भन्दा कम भएको समाचारमा जनाइएको छ।
गएको २४ घण्टामा भारतमा छ हजार ४५० जना कोरोनाबाट मुक्त भएका छन्। यसैसँगै कोरोना शुरु भएयता हालसम्म तीन करोड ४२ लाख ४३ हजार ९४५ जनालाई कोरोना सङ्क्रमण निको भएका छन्। भारतमा कोरोना भाइरस निको हुने दर ९८.४० प्रतिशत रहेको जनाइएको छ। यो सङ्ख्या सन् २०२० को मार्चपछि सबभन्दा बढी भएको समाचारमा जनाइएको छ।
सोही अवधिमा थप २९३ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोनाको कारण ज्यान गुमाउने व्यक्तिको संख्या चार लाख ८० हजार २९० पुगेको मन्त्रालयले थप जानकारी दिएको छ।