काठमाडौं- बेलायतमा एकै दिन अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमित पाइएको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन्। त्यहाँका अधिकारीहरूले दिएको जानकारीअनुसार एक लाख २२ हजारभन्दा बढी संक्रमित भेटिएका बताइएको छ।
यसअघि त्यहाँ शुक्रबार मात्र एकै दिनमा १ लाख २० हजार सङक्रमित भेटिएका थिए। त्यहाँ कोरोना भाइरसको सङ्क्रमण सुरु भएदेखि नै एकै दिनमा देखिएको यो सबैभन्दा बढी सङ्क्रमित संख्या हो।
बेलायतमा पछिल्ला केही हप्ताहरुमा कोरोना भाइरसको प्रकोप बढ्दै गएको देखिएको छ। त्यहाँका अधिकारीहरूले प्रकोप सुरु भएयताकै सबैभन्दा धेरै सङ्क्रमित बढेका बताइरहेका छन।त्यसैगरी त्यहाँ हरेक दिन कोभिडको घातक मानिएको ओमिक्रोन भेरियन्ट पनि बढ्दो देखिएको छ। पछिल्लो समयमा ओमिक्रोन भाइरस देखिएपछि त्यहाँका कतिपय कार्यक्रमहरूमा पनि प्रतिबन्ध लगाउन सुरु गरिएको छ।
त्यहाँ अहिलेसम्म एक करोड १८ लाख ९१ हजार भन्दा बढी सङ्क्रमित पुगेका छन्। त्यसैगरी बेलायतमा यो सङ्क्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ४७ हजारभन्दा बढी पुगेको बताइएको छ।