काठमाडौं- युरोप कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको त्रासमा रहेको छ। नयाँ भेरियन्ट फैलिने क्रम जारी रहेका बेला नेताहरूले कोभिड- १९ सम्बन्धी प्रतिबन्धात्मक नियम पुन लागू गर्ने घोषणा गरेका छन्।
युरोपका कैयौं मुलुकमा ओमिक्रोन प्रमुख भेरियन्टको रुपमा देखा परेको छ। यसैबीच जर्मनी र पोर्चुगलसहितका मुलुकमा क्रिसमसपछि सामाजिक दूरीसहितका नियममा कठाइ गरिने भएको छ।
जर्मनीले २८ डिसेम्बरपछि व्यक्तिगत जमघटलाई १० जना मानिसमा मात्रै सीमित पार्ने र नाइट क्बल बन्द हुने घोषणा गरेको छ। उक्त मितिदेखि फुटबल प्रतियोगिता बन्द स्थलमा मात्रै गर्न पाइने भएको छ।
पोर्चुगलले समेत डिसेम्बर २६ देखि बार र नाइट क्लब बन्द गर्न आदेश दिएको छ। जनवरीसम्म घरमै बसेर काम गर्नुपर्ने नियमलाई अनिवार्य बनाइएको छ भने बाहिर हुने जमघटमा १० जनाभन्दा बढी मानिस भेला हुन पाउने छैनन्।
स्विडेनमा बुधबारदेखि बार, क्याफे र रेष्टुरेन्टमा बसिरहेका पाहुनालाई मात्रै सेवा उपलब्ध गराइने भएको छ भने संभव भएसम्म घरमै बसेर काम गर्न भनिएको छ। त्यहाँकी स्वास्थ्यमन्त्री लिना हलेनग्रेनले ओमिक्रोनका संक्रमित फैलिन सक्ने भन्दै स्वास्थ्य सेवामा चाप बढिरहेको बताएकी छन्।
नेदरल्याण्डले सोमबार नै कडा लकडाउन गर्ने घोषणा गरिसकेको छ। तर अन्य युरोपेली नेताले क्रिसमस र नयाँ वर्षपछि आवश्यक परेको खण्डमा लडडाउन लगाउन चाहेका छन् ।