काठमाडौं- बेलायतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको संख्या बढ्न थालेपछि आपतकाल घोषणा गरिएको छ। बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आइतबार ‘ओमिक्रोन आपतकाल’ घोषणा गरेका हुन्।
टेलिभिजनमार्फत् सम्बोधन गर्दै प्रधानमन्त्री जोनसनले ओमिक्रोनको ‘छाल र ज्वारभाटा’ आउनसक्ने भन्दै समयमै सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्। उनले ओमिक्रोन संक्रमण रोक्न १८ वर्षभन्दा माथिका सबै नागरिकलाई खोपको बुस्टर डोज लगाइने पनि बताए। बेलायतले यसै सातादेखि बुस्टर डोज दिन सुरु गर्ने विभिन्न संचारमाध्यमले जनाएका छन्।
यसअघि बेलायतले जनवरीको अन्त्यदेखि मात्रै बुस्टर खोप लगाउने जनाएको थियो। तर, ओमिक्रोनको संक्रमण व्यापक रुपमा बढेपछि बुस्टर खोप अभियान एक महिनाअगाडि सारिएको प्रधानमन्त्री जोनसनले जानकारी दिए।
कोरोनाविरुद्धको बुस्टर डोजले कोरोना भाइरस नियन्त्रणमा ७५ प्रतिशतसम्म काम गर्ने वैज्ञानिकहरूको दाबी छ। यसबाट अस्पतालमा हुने चापसमेत नियन्त्रण हुने उनीहरुले बताएका छन्। ओमिक्रोनको संक्रमण बढेसँगै बेलायतका अस्पतालमा बिरामीको चाप बढ्न थालिसकेको छ।
अफ्रिकी मुलुकबाट सुरु भएको ओमिक्रोन भेरियन्ट अहिले विश्वका अधिकांश मुलुकमा फैलिसकेको छ। तर, यो कति संक्रामक छ भन्ने वैज्ञानिकहरूले यकिन भन्न सकेका छैनन्। बेलायतमा केही सातादेखि दैनिक ५० हजारको हाराहारीमा नयाँ संक्रमित थपिइरहेका छन्। तीमध्ये ओमिक्रोनबाट संक्रमित हुनेको संख्या पनि दैनिक ५०० को हाराहारीमा रहेको बताइएको छ।