काठमाडौं– दक्षिण अफ्रिकामा फेला परेको कोरोना भाइरसको नयाँ रूप ‘ओमीक्रोन’ संक्रमित बेलायतमा पनि भेटिएका छन्।
बेलायतका स्वास्थ्य मन्त्री साजिद जाविदले उक्त कुराको पुष्टि गरेका हुन्। उनका अनुसार चेल्म्सफोर्ड र नटिङ्घममा दुई संक्रमित फेला परेका हुन्।
नयाँ भेरियन्ट दक्षिण अफ्रिका, बोत्सवाना, बेल्जियम, हङकङ र इजरायलमा पनि पहिचान गरिएको छ। यसका साथै अमेरिका, क्यानडा, बेलायत, युरोपेली संघ, जापान, इरान, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स र बहराइनलगायतका देशले दक्षिण अफ्रिकासहित अफ्रिकाका ७–८ देशका विमान र यात्रुलाई प्रवेशमा रोक लगाउन थालेका छन्।
दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, इस्वाटिनी, मोजाम्बिक र मलावीबाट आउने उडानमा प्रतिबन्ध लगाइएको हो। यसका साथै एङ्गोला, मोजाम्बिक, मलावी र जाम्बियालाई बेलायतले त्यो सूचीमा थपेको छ।
जसको अर्थ यी देशबाट बेलायत भित्रिने यात्रुले १० दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्नेछ।
‘हामी सधैं स्पष्ट छौं, यदि आवश्यक छ भने हामी थप कारबाही गर्न हिचकिचाउँदैनौं। यदि कसैले विगत चार दिनमा यी चार देश वा अन्य रातो सूचीमा परेका कुनै पनि देशको यात्रा गरेको छ भने उनीहरूले सेल्फ आइसोलेसनमा बस्नु पर्छ र पीसीआर परीक्षण गर्नुपर्छ,’ स्वास्थ्य मन्त्री जाविदले भने।