काठमाडौं– अमेरिकी कम्पनी फाइजरले बनाइरहेको कोभिड–१९ का बिरामीको उपचारका लागि प्रयोग हुने एन्टिभाइरल औषधिको उत्पादन अनुमति अन्य मुलुकलाई पनि दिने भएको छ। यो औषधि ट्याब्लेट (चक्की) रुपमा आउने छ। यसलाई अन्य औषधिजस्तै मुखबाट खान मिल्छ।
कम्पनीले मंगलबार घोषण गर्दै न्यून तथा मध्यम आय भएका ९५ देशका जेनरिक औषधि उत्पादकलाई सो औषधि उत्पादनको अनुमति दिने बताएको हो।
यी देशहरुलाई अन्तर्राष्ट्रिय जनस्वास्थ्य समूह मेडिसिन्स प्याटेन्ट पुल (एमपीपी)सँगको लाइसेन्सिङ सहमतिमार्फत जेनरिक औषधि उत्पादनको अनुमति दिन लागिएको कम्पनीले जनाएको छ।
क्लिनिकल परीक्षणमा खाने चक्कीले बिरामीको अस्पतालमा भर्ना हुने वा गम्भीर समस्याका कारण मृत्यु हुने सम्भावना ८९ प्रतिशतले कम गरेको फाइजरले बताएको छ।
यसअघि अमेरिकाकै अर्को कम्पनी मार्कले पनि आफूले उत्पादन गरेको चक्की औषधिले कोभिड–१९ को संक्रमण भएर अस्पताल भर्ना हुने वा मृत्युको जोखिमलाई आधाले कम गर्ने दाबी गरेको छ। मर्क कोभिडको उपचारका लागि औषधिको परीक्षण परिणामको रोपोर्ट बाहिर ल्याउने पहिलो कम्पनी हो।