नयाँ दिल्ली- भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका सक्रिय सङ्क्रमितहरुको सङ्ख्या धेरै कम देखिएको छ।सरकारी अधिकारीहरुले आइतबार दिएको जानकारीअनुसार भारतमा अहिले सन् २०२० को मार्चपछिकै सवैभन्दा थोरै सक्रिय सङ्क्रमितहरु रहेका छन्।
उनीहरुका अनुसार भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको कुल सङ्ख्या एक लाख ३५ हजार ९८१ रहेको छ।
'कुल सङ्क्रमित मध्ये अहिले एक प्रतिशतभन्दा कम मात्रै सक्रिय सङ्क्रमित रहेका छन्, यो सङ्ख्या पछिल्ला ५२२ दिन अर्थात १७ महिना पछिकै सवैभन्दा कम हो,' केन्द्रीय स्वास्थ्य मन्त्रालयको वक्तव्यमा उल्लेख छ। त्यसैगरी पछिल्लो २४ घण्टामा भारतमा ११ हजार २७१ जना नयाँ सङ्क्रमित थपिएको पनि मन्त्रालयले जनाएको छ।मन्त्रालयका अधिकारीहरुका अनुसार सोही अवधिमा कोरोनाभाइरसका कारण थप २८५ जनाको मृत्यु भएको छ।
भारतमा अहिलेसम्म कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको कुल सङ्ख्या चार लाख ६३ हजार ५३० पुगेको मन्त्रालयको विवरणमा उल्लेख छ। पछिल्लो एक दिनमा नयाँ थपिएका सङ्क्रमित मध्ये छ हजार ४६८ जना केरला राज्यका मात्रै रहेका छन्। भारतमा कोरोनाका कारण अहिले सवैभन्दा बढी प्रभावित केरलामा एक दिनमा मात्रै २३ जनाको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा भारतमा १२ लाख ५५ हजार ९०४ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।
रासस