काठमाडौं– चितवनस्थित भरतपुर अस्पतालमा अहिलेसम्म १३ जना चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र कार्यालय सहयोगी कोरोना संक्रमित भइसकेका छन्। कर्मचारी नै संक्रमित भएपछि अस्पतालले तीन दिन त आकस्मिक सेवा समेत बन्द गर्नुपरेको थियो।
साउन २९ गते साँझ ८ बजेदेखि बन्द भएको आकस्मिक सेवा साउन ३१ गते साँझबाट मात्र सञ्चालनमा आएको थियो। अस्पतालमा हाल कुनै पनि सेवा बन्द छैन।
एक साताअघि मात्र भरतपुर अस्पतालका थप ७ जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको थियो। अस्पतालका सूचना अधिकृत लिलाधर पौडेलका अनुसार अहिलेसम्म मेडिकल सुपरिटेन्डेन्डसहित ५ चिकित्सक, ४ जना नर्सिङ स्टाफ, २ जना स्वास्थ्यकर्मी र दुई जना कार्यालय सहयोगी गरी १३ जना कर्मचारीमा कोरोना संक्रमण भेटिएको हो। उनीहरु अहिले अस्पतालको आइसोलेसनमा उपचाररत छन्।
अस्पतालका कर्मचारीहरु नै संक्रमित भएपछि भरतपुर अस्पतालले आफ्नो सेवा कसरी दिएको छ भनेर हामीले अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीलाई सोधेका थियौंः
अहिलेसम्म जति पनि कर्मचारी संक्रमित हुनुभएको छ, उहाँहरु प्रायः फिबर क्लिनिक, स्वाब संक्रलन गर्ने ठाउँमा काम गर्ने हुनुहुन्छ। कर्मचारीमा नै संक्रमित देखिएपछि हामीले सम्पूर्ण कर्मचारीको पिसिआर परीक्षण गर्ने काम सुरु गरेका छौं। यो काम अब लगभग अन्तिम अवस्थामा पुगेको छ।
सुरुमा हामीले सबैभन्दा अत्यावश्यक सेवा दिनुपर्ने विभागबाट पिसिआर परीक्षण गर्ने काम सुरु गर्यौँ। काममा लगाउन जोखिम भएपछि अहिले हामीले हरेक विभागका कर्मचारीलाई कामको भागबण्डा गरेका छौं। र, महिनामा १४ दिन काम गर्ने र १४ दिन क्वारेन्टाइनमा बस्ने व्यवस्था गरेका छौँ। त्यसले गर्दा यदि कसैलाई संक्रमण भइहाल्यो भने पनि सेवा प्रभावित हुँदैन।
अहिले चितवनमा पनि लकडाउन छ। त्यसैले सामान्य अवस्थामा जस्तो बिरामीको चाप छैन। अहिले हामीले एकीकृत इमर्जेन्सी सेवा सञ्चालन गर्दै छौँ। एकीकृत सेवा सबै विभागका चिकित्सक एउटै हलमा बस्नु हुन्छ। यसमा छुट्टाछुट्टै ओपिडी सेवा हुँदैन। यसमा सबै चिकित्सकले सबै रोगको सेवा दिने व्यवस्था हुन्छ। यसले थोरै जनशक्तिबाट पनि सेवा सञ्चालन गर्न सकिने भएकाले यो विधि अपनाएका हौं। यो सेवा आज (आइतबार) बाट सञ्चालनमा आउँदै छ। यसका लागि अस्पतालले सबै आवश्यक प्रबन्ध गरिसकेको छ। अब बिरामीले इमर्जेन्सीबाट टिकट लिनुहुन्छ र त्यहींबाट एकीकृत इमर्जेन्सी हलमा जानुहुन्छ। सम्पूर्ण सेवा त्यहींबाट पाउनुहुन्छ। त्यसो गर्दा संक्रमितलाई पनि सहज हुन्छ।
अर्को निर्णय भनेको अबदेखि कोही पनि अस्पतालमा कार्यरत कर्मचारीलाई कोरोनाको लक्षण देखापर्यो भने उहाँले सूचना दिनुपर्ने हुन्छ। हामीले तुरुन्त पिसिआर गर्न स्वाब संकलन गर्छौँ र क्वारेन्टाइनमा राख्छौँ।
भरतपुर अस्पतालमामा ए, बी र सी गरेर तीन वटा ब्लक रहेका छन्। कोभिड संक्रमितलाई ए ब्लकमा राखेर उपचार गर्ने गरेका छौँ, अन्य बिरामी बस्ने र बिरामी कुरुवा बस्ने ठाउँ फरकफरक रहेको छ। संक्रमितको सेवामा खटिएका स्वास्थ्यकर्मी, चिकित्सक र अन्य कर्मचारीलाई होटेलमा क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेका छौँ।