काठमाडौं– नेपालमा पहिलो कोरोना संक्रमण आजभन्दा करिब साढे ६ महिनाअघि भेटिएको थियो। त्यसको झन्डै दुई महिनापछि अर्थात् चैत १४ गते सुदूरपश्चिममा पनि संक्रमित भेटियो। यो नै काठमाडौं उपत्यका बाहिर संक्रमित भेटिएको पहिलो घटना थियो।
कोरोना भाइरसको संक्रमण फैलिरहँदा सुदूरपश्चिम प्रदेश सरकारले पनि पूर्वतयारी सुरु गरेको थियो। कोरोना संक्रमितको उपचारका लागि पूर्वतयारी अघि बढाउने एउटा प्रमुख अस्पताल थियो, धनगढीस्थित सेती प्रादेशिक अस्पताल।
चीन र भारत दुवै देशसँग नाका जोडिएका कारण पनि यो प्रदेश कोरोनाको उच्च जोखिममा थियो। त्यसैले सेती अस्पतालले कोरोना पूर्वतयारी अघि बढाएको थियो। तयारीस्वरुप नै संक्रमितको उपचारको लागि छुट्टै आइसोलेसन वार्डको समेत व्यवस्था गरेको थियो सो अस्पतालले।
प्रदेश सरकारले सेती अस्पताललाई कोरोना विशेष अस्पताल घोषणा गरेसँगै अस्पतालले प्रसूति सेवा बन्द गरेर कोरोना संक्रमितको उपचारको निमित्त आइसोलेसन निर्माण गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमराज पाण्डे बताउँछन्।
उनी भन्छन्, ‘प्रदेश सरकारले सेती अस्पतालाई कोरोना अस्पतालको रुपमा घोषणा गरेसँगै अस्पताले प्रसूति वार्डलाई आइसोलेसनमा परिणत गरेको थियो। त्यो कारणले गर्दा केही दिन अस्पताले दिँदै आएको प्रसूति सेवा अवरुद्ध भएको थियो।’
संक्रमितको संख्या बढेसँगै अस्पतालले प्रदेश सरकारको सहयोगमा छुट्टै ५० बेडको कोरोना अस्पताल सञ्चालनमा ल्याएको छ। अहिले सेती प्रदेशिक अस्पतालको कोरोन विशेष अस्पताल सुदूरपश्चिम प्रदेश कोभिड–१९ डेडिकेटेड अस्पतालमध्येको एक हो।
अस्पतालमा पहिलो संक्रमण भेटिएदेखि नै अस्पताल संक्रमितको उपचारमा खटिएको छ। अहिलेसम्म अस्पतालमा ८७ जना संक्रमित भर्ना भइसकेका छन्। तीमध्ये ८२ जना निको भएर घर फर्किसकेका छन् भने २ जना उपचारत छन्।
अस्पतालका अनुसार अहिलेसम्म अस्पतालमा ५–६ जना जटिल प्रकारका संक्रमित भर्ना भए, तीमध्ये १ जनाको मृत्यु भएको छ।
सेती प्रादेशिक अस्पताल लेबर २ को अस्पताल भएकोले यदि जटिल प्रकारका संक्रमितको शल्यक्रिया गर्नुपर्ने देखियो वा अन्य विशेष उपचार चाहियो भने अन्य सुविधासम्पन्न अस्पतालमा रिफर गरिदिने अस्पतालले जनाएको छ।
पहिले नैै आइसोलेसन तयारी अवस्थामा राख्नुका साथै सम्पूर्ण कर्मचारीलाई रोगको बारेमा जानकारी गराएर संक्रमितको उपचारमा खटाउने टिम बनाएकोले पहिलो संक्रमितको उपचार गर्दा कुनै समस्या भोग्नु नपरेको मेसु पाण्डे बताउँछन्।
‘हामीले अस्पताल र अस्पतालमा कार्यरत चिकित्सक, नर्स, स्वास्थ्यकर्मीहरु र अन्य सहयोगी कर्मचारीलाई रोगको बारेमा जानकारी गराएका थियौं। उपचारमा चिकित्सकको टिम बनाएर उनीहरुलाई तालिम दिएका थियौं। त्यो कारणले गर्दा पहिलो पटक संक्रमित आउँदा कुनै कठिनाइ भोग्नु परेन,’ उनी भन्छन्।
अस्पतालमा कोरोना संक्रमितको उपचारमा चाहिने उपकरण, स्टाफ, पिपिई, मास्क लगायतका सम्पूर्ण सामग्रीको व्यवस्था सरकारले गरिदिएकोले उपचार सहज भएको अस्पतालका सिनियर कन्सल्ट्यान्ट फिजिसियन तथा उपचार विभाग प्रमुख डा शेरबहादुर कमार बताउँछन्।
अस्पतालले संक्रमितको उपचारको निमित्त फिजिसियन, नर्स, स्वास्थ्यकर्मी गरेर १५ जनाको टिम बनाएको छ, जसले पालोपालो ड्युटी गर्छ। एउटा टिम १४ दिन ड्युटी गरेर १४ दिन क्वारेन्टाइनमा बस्छ भने पुनः अर्को टिम संक्रमितको उपचारमा खटिने गरेको मेसु पाण्डेले जानकारी दिए।
अहिलेसम्म सेती प्रदेशिक अस्पतालमा ३ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन्। अहिले सबै जना निको भएर काममा फर्किसकेका छन्।
डा शेरबहादुरका अनुसार अस्पतालले विदेशबाट आउने र अन्य शंकास्पदहरुलाई फिबर क्लिनिकमा लगेर जाँच गर्ने र उनीहरुको स्वाब संकलन गरिसकेपछि क्वारेन्टाइनमा राख्ने र यदि रिपोर्ट पोजेटिभ आयो भने आइसोलेसनमा भर्ना गर्ने गरेको डा शेरबहादुरले जानकारी गराए।
उनले भने, ‘सुरुसुरुमा सबै जना शंकास्पदलाई आइसोलेसनमा भर्ना गरेर राख्ने गथ्र्यौं तर आजभोलि विदेशबाट आउनेको संख्या बढेसँगै रिपोर्ट पोजेटिभ आएकाहरुलाई मात्र आइसोलेसनमा भर्ना गर्छौं।’
सेती अस्पतालले संक्रमितको उपचारको लागि २४ घन्टा चिकित्सकको टोली खटाएको छ। उनीहरुले आइसोलेसनमा गएर संक्रमितको दैनिक ज्वरो नाप्नुका साथै आवश्यक जाँच गरेर रोगको लक्षण अनुसार औषधि दिने गरेका छन्। संक्रमितहरुलाई खाने र बस्ने राम्रो व्यवस्था अस्पतालले नै गरेको डा शेरबहादुर बताउँछन्।
सुरुसुरुमा अस्पतालले आइसोलेसनमा बसेकाहरुलाई निको भएर घर फर्किने बेलामा दोहो¥याएर पिसिआर परीक्षण गर्ने गरिएको भए पनि आजभोलि सरकारको निर्णय अनुसार संक्रमितलाई १४ दिनसम्म कुनै लक्षण नदेखिएमा एक हप्ता घरमै आइसोलेसनमा बस्ने गरेर डिस्चार्ज गर्ने गरेको डा शेरबहादुर बताउँछन्।
जिल्लामा आएका शंकास्पदलाई स्वास्थ्य निर्देशनालयले क्वारेन्टाइनमा राखेर निगरानी गर्नुका साथै र कन्ट््याक्ट टे«सिङको काम गर्ने गरेको छ।
अहिलेसम्म सेती प्रदेशिक अस्पतालमा १९ हजारभन्दा बढीको पिसिआर परीक्षण भइसकेको छ भने १ हजार ५ सय भन्दा बढीको पोजेटिभ आएको छ। उनीहरु विभिन्न अस्पतालमा उपचारत छन्।