काठमाडौं- आज भन्दा ठिक ६ महिनाअघि अर्थात् माघ १० गते नेपालमा पहिलो पटक कोरोना भाइरसका संक्रमित भेटिएका थिए। संक्रमण पुष्टि भएपछि उनलाई उपचारका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा लगियो। अस्पतालमा भएको स्पेसल क्याबिन वार्डमा राखेर ती संक्रमितको उपचार सुरु भयो।
नेपालकै पहिलो संक्रमितको उपचारका लागि अस्पतालले चिकित्सक, स्वास्थ्यकर्मी तथा नर्सहरुको टिम खटाएको थियो। त्यो टिमकी एक सदस्य हुन्, शुक्रराज अस्पतालकी नर्सिङ निरीक्षक सिर्जना बज्राचार्य।
सिर्जना ६ महिनादेखि कोरोना संक्रमितको हेरचाहमा खटिएकी छन्। आइसोलेसनमा काम गर्न सुरु गरेदेखि नै उनी अस्पतालको छुटै क्वाटरमा बस्दै आएकी छन्।
अस्पतालले कोरोनाको केस पहिलो भएकाले सावधानी अपनाउन चिकित्सक र स्वास्थ्यकर्मीको टोलीलाई सुझाव दिए पनि अस्पतालमा व्यक्तिगत सुरक्षा साम्रगी पिपिईको व्यवस्था नै थिएन। साधारण मास्क र पञ्जाको भरमा संक्रमितको उपचारमा खटिनुपरेको अनुभव सिर्जनासँग छ।
‘अस्पतालले कोरोनाका बिरामीको उपचारका लागि मास्क, ग्लोब्स र सेनिटाइजर लगाएर उपचारमा खटिनु भनेको थियो। तर त्यो बेलासम्म कोरोनाको विषयमा सुनेको भए पनि त्यति गम्भीर रुपमा लिएनौँ,’ उनले पहिलो पटक कोरोना संक्रमित बिरामीको उपचार गर्दाको अनुभव सुनाउँदै भनिन्, ‘पिपिई नै थिएन, त्यसैले अन्य संक्रमितको उपचारमा जसरी खटिन्थ्यौं, त्यसरी नै उनको उपचारमा पनि खटियौं।’
नेपालमा पहिलो कोरोना संक्रमित भेटिँदा चीनको बुहान लगायत विश्वका थोरै देशमा मात्र यो रोगको संक्रमण देखिएको थियो। विशेषगरी चीनमा कोरोना संक्रमण फैलिँदै गए पनि अन्य देशमा भने यसले महामारीको रुप लिइसकेको थिएन।
‘पछि चाहिँ कोरोना भाइरसले विश्वभरि महामारीको रुप लिइसकेपछि भने मलाई पनि निकै डर लाग्यो,’ सिर्जनालेले सुनाइन्, ‘कतै मलाई पनि कोरोना संक्रमण त भएन?’ पिसिआर परीक्षणमा रिपोर्ट नेगेटिभ आइसकेपछि भने उनको मनमा गडेको डर कम भएको थियो।
पहिलो संक्रमित भर्ना भएको दुई महिनापछि अस्पतालमा दोस्रो संक्रमितलाई भर्ना गरियो। त्यतिबेलासम्म अस्पतालले सबै चिकित्सक, नर्ससहित कर्मचारीलाई कोरोना संक्रमितको उपचारबारे प्रशिक्षण दिइसकेको थियो। पिपिई लगायत अत्यावश्यक स्वास्थ्य सामग्री पनि सहज रुपमा उपलब्ध हुन थालिसकेको थियो।
अस्पतालले दुई महिनाका बीचमा कोरोना उपचारका लागि आफूलाई तयारी अवस्थामा राखेकाले दोस्रो संक्रमितको उपचार गर्दा असहज नभएको सिर्जना सुनाउँछिन्। ‘दोस्रो संक्रमितको उपचारका लागि हामीले निकै सतर्कता अपनायौं,’ उनी भन्छिन्।
सुरुवाती दिनमा अस्पताल भर्ना भएका कोरोनाका शंकास्पद बिरामीको उपचारमा प्रत्यक्ष खटिनुपर्ने भए पनि अहिले आवश्यक परे मात्रै संक्रमितको नजिक जाने गरेको सिर्जना बताउँछिन्। ‘पहिला त संक्रमितको छेउमा गएर उनीहरुको स्याहारसुसार गर्नुपथ्र्याे तर अहिले सिसिटिभीबाट निगरानी गर्छाैं, त्यहीबाट आवश्यक निर्देशन दिने काम हुन्छ,’ उनले भनिन्, ‘कोही कम सुन्ने व्यक्ति पनि हुन्छन्, उनीहलाई भने प्रत्यक्ष भेटेरै केयर गर्नुपर्ने हुन्छ।’
देशका विभिन्न स्थानमा कोरोना संक्रमित व्यक्तिहरु अस्पतालबाटै भागेका समाचार सार्वजनिक भएपछि यसले अस्पताल प्रशासनलाई मात्र टाउको दुखाइ बनेन, समाजमा पनि त्रास उत्पन्न भयो। कोरोना समुदायस्तरमा फैलिने चिन्ता बढ्यो। यस्तै समस्या शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पनि भोग्नुपर्यो।
आइसोलेसनमा रहेका केही व्यक्ति शौचालयको झ्यालबाट भागेपछि अस्पतालले सुरक्षा व्यवस्थालाई कडा गर्नुपर्ने बाध्यता आयो। सुरुका दिनदेखि कोरोना संक्रमितको उपचारमा प्रत्यक्ष संलग्न नर्स सिर्जना पनि भन्छिन्, ‘त्यतिबेला अस्पतालको व्यवस्थापनमा पनि केही समस्या थियो होला तर अहिले सबै सहज भएको छ। संक्रमितहरुले पनि उपचारपछि निको हुने रहेछ भन्ने बुझेका छन्।’
पिपिई लगाएर उपचारमा खटिँदा अप्ठ्यारो महसुस भएको अनुभव छ सिर्जनासँग। ‘पिपिई लगाउन भन्दा खोल्न धेरै गाह्रो,’ उनले भनिन्, ‘थोरै मात्र गल्ती भयो भने पनि संक्रमण फैलने डर हुन्छ। त्यसैले जहिले पनि पिपिई खोल्दा कतै मेरो कारणले अरु मानिसलाई संक्रमण सर्ने तहोइन भन्ने डर लाग्छ।’
आइसोलेसनमा काम गर्न सुरु गरेदेखि अस्पताल प्रशासनमा काम गर्ने कर्मचारीहरु आफूहरुसँग डराउने गरेको सिर्जनाले बताइन्। ‘हामीभन्दा अस्पतालका प्रशासनका साथीहरु डराउनुहुन्छ। आइसोलेसनमा काम गर्न सुरु गरेदेखि उहाँहरु हामीसँग बोल्नुपर्यो भने पनि टाढैबाट बोल्नु हुन्छ,’ उनले भनिन्, ‘सुरुसुरुमा त निकै दुःख लागेको थियो तर आजभोलि सामान्य रुपमा लिन्छु।’ साथीहरुको व्यवहारले सिर्जनाको मन दुखेको छ।
दुई वर्षको छोरा र श्रीमानलाई छोडेर अस्पतालमै बस्न थालेको पनि ६ महिना भइसकेको छ, उनलाई। यो बीचमा उनी श्रीमान र छोरोलाई भेट्न दुई पटक मात्र घर गइन्।
लामो समय अस्पतालमै बस्दा छोरा उनीसँग बोल्न छोडेको छ। ‘सानो दुई वर्षे छोरो छ। उसलाई पहिलो पटक छोडेर आउँदा दुःख लागेको थियो। म यता बस्न थालेपछि भिडियो कल गर्दा पनि बोल्न मान्दैन। उसको फोटो हेरेर बस्छु,’ उनले भनिन्, ‘दुई पटक घर जाँदा त छोरो बोल्नै नखोज्ने, नचिनेर होला, हेरेको हेर्यै मात्र गर्ने। धेरै बेरपछि मात्र नजिक आउँछ। दुःख त लाग्छ तर काम पनि गर्नै पर्यो।’
उनी घर जाँदा छिमेकीहरुले पनि कोरोना लिएर त आएनौँ नि भनेर प्रश्न गर्ने गरेको सिर्जना सुनाउँछिन् । उनी पनि हाँस्दै ‘पिसिआर परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि मात्र घर आएको हुँ’ भनेर जवाफ दिन्छिन् छिमेकीलाई।