काठमाडौं- अस्वस्थ खानपान र निष्क्रिय जीवनशैलीका कारण नेपालमा नसर्ने रोगको भार तीब्र गतिमा बढ्दै गएको एक सर्वेक्षणले देखाएको छ। नेपालमा हुने कूल मृत्युमध्ये नसर्ने रोगका कारण मात्र ६६ प्रतिशतको ज्यान जाने गरेको र यो संख्या हरेक वर्ष बढ्दै गएको अध्ययनले देखाएको हो।
नेपालमा नसर्ने रोगसम्बन्धी जोखिम तत्वको सर्वेक्षण (स्टेप्स सर्वे) ले अस्वस्थ खानपिन र निष्क्रिय जीवनशैलीका कारण मोटोपन, उच्च रक्तचाप, मधुमेह, रगतमा कोलेस्टेरोल, चिनीको मात्रा बढ्दै गएको देखाएको हो।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले नसर्ने रोगको जोखिम तत्वको अध्ययनका लागि नेपालीको खानपान र बानीव्यहोरासम्बन्धी सर्वेक्षण गरेको हो। सर्वेक्षणका क्रममा परिषद्ले सूर्तिजन्य पदार्थ र मदिरा सेवन, दैनिक आहार, शारीरिक क्रियाकलाप, स्वास्थ्य जाँच, रगत जाँच लगायतका विवरण संकलन गरेको थियो।
नेपाल सरकार र विश्व स्वास्थ्य संगठनको आर्थिक र प्राविधिक सहयोगमा परिषद्ले गरेको सर्वेक्षणमा देशभरका १५ देखि ६९ वर्ष उमेरका मानिसहरुसँग विवरण संकलन गरिएको थियो। सर्वेक्षणमा ५ हजार ५ सय ९३ जनाको नमुना संकलन गरिएको थियो।
परिषद्का कार्यकारी अध्यक्ष डा अञ्जनीकुमार झाका अनुसार गत फेब्रुअरीदेखि मेसम्म भएको सर्वेक्षणमा मोटोपन र उच्च रक्तचापको व्यापकता पत्ता लगाउन उचाइ, तौल र रक्तचाप जस्ता शारीरिक मापन गरिएको थियो। त्यसैगरी, रगतमा चिनी र कोलेस्टेरोल पत्ता लगाउन बायोकेमिकल मापनहरु संकलन गरिएको थियो।
सर्वेक्षणका क्रममा नेपालीमा धूमपान तथा सूर्तिजन्य पदार्थको सेवन र मद्यपान सेवन युवा उमेरमा बढ्दै गएको, सन्तुलित भोजनको मात्रा नमिलेको, नुन धेरै मात्रामा लिने गरेको, उमेर अनुसारको खानपान नमिलेको र शारीरिक क्रियाकलापसमेत आवश्यकताअनुसार नभएको फेला परेको छ। ‘नेपालीहरुमा न स्वस्थकर र मात्रा मिलाएर आहार लिने गरिएको पाइयो न त व्यायाम तथा शारीरिक क्रियाकलाप नै,’ सर्वेक्षण प्रतिवेदनको सारका विषयमा डा झाले भने, ‘अस्वस्थकर रुपमा बढ्दै गएको जीवनशैलीका कारण मानिसहरु शारीरिक रुपमा निष्क्रिय र खानपानमा लापरबाह हुँदा नसर्ने रोगको भार बढिरहेको देखियो।’ उनले नेपालीको खानपान र बानीव्यहोरामा सकारात्मक परिवर्तन नल्याउने हो भने भोलिका दिनमा नसर्ने रोगले भयाभह अवस्था निम्त्याउने खतरा रहेको बताए।
मापदन्डअनुसार फलफूल र तरकारी खाने जम्मा ३ दशमलव ३ प्रतिशत
विश्व स्वास्थ्य संगठनको मापदन्डअनुसार एक व्यक्तिले एक दिनमा ५ सर्भिङ अर्थात् ४ सय ग्राम फलफूल तथा तरकारी खानुपर्छ। एक सर्भिङ बराबर ८० ग्राम फलफूल र तरकारी हुन्छ। तर, सर्वेक्षणले उक्त मापदन्डअनुसार जम्मा ३ दशमलव ३ प्रतिशत नेपालीले मात्र फलफूल र तरकारी खाने गरेको देखाएको छ। ‘९६ दशमलव ७ प्रतिशत नेपालीले औसतमा १ दिनमा ५ सर्भिङभन्दा थोरै फलफूल र तरकारी खाने गरेका छन्,’ सर्वेक्षण प्रतिवेदनमा भनिएको छ।
मापदन्डअनुसार फलफूल र तरकारी खानेमा पुरुष ३ र महिला ३ दशमलव ७ प्रतिशत रहेको छ। सर्वेक्षणअनुसार एक दिनमा औसतमा नेपालीले २ सर्भिङ अर्थात् १ सय ६० ग्राम मात्र फलफूल र तरकारी खान्छन्।
प्रदेशअनुसार हेर्ने हो भने सबैभन्दा धेरै प्रदेश २ का नागरिकले फलफूल र तरकारी खाने गर्छन्। प्रदेश २ का नागरिकले औसतमा दैनिक २ दशमलव ३ सर्भिङ फलफूल र तरकारी खाने गर्छन्। त्यसपछि प्रदेश ५, प्रदेश ३ र प्रदेश १ मा औसतमा २ सर्भिङ, कर्णाली प्रदेशमा १ दशमलव ९ र सुदूरपश्चिम प्रदेशमा १ दशमलव ६ सर्भिङ फलफूल र तरकारी खाने गर्छन्।
महिलाको तुलनमा ५ गुणा बढी पुरुष अम्मली
सर्वेक्षणले नेपालका २८ दशमलव ९ प्रतिशत नागरिकले चुरोट तथा सूर्तिजन्य पदार्थ सेवन गर्ने गरेको देखाएको छ।
सर्वेक्षण अनुसार महिलाको तुलनामा पुरुषहरु ५ गुणाभन्दा बढी अम्मली छन्। सर्वेक्षण प्रतिवेदनमा नेपालका ४८ दशमलव ३ प्रतिशत पुरुष र ११ दशमलव ६ प्रतिशत महिलाले चुरोट तथा सूर्तिजन्य पदार्थ सेवन गर्ने गरेको उल्लेख छ।
चुरोट र सूर्तिजन्य पदार्थ सेवन गर्नेको संख्या सबैभन्दा बढी प्रदेश ५ मा रहेको छ। प्रदेश ५ का ३६ दशमलव ६ प्रतिशतले चुरोट तथा सूर्ति सेवन गर्ने गरेका छन्।
प्रदेश १ मा २२ दशमलव ८, प्रदेश २मा २९ दशमलव ७, प्रदेश ३ मा २२ दशमलव २, गण्डकी प्रदेशमा २५ दशमलव ९, प्रदेश ५ मा ३६ दशमलव ६ र कर्णाली प्रदेशमा २९ दशमलव ७ प्रतिशतले चुरोट तथा सूर्तिजन्य पदार्थ सेवन गर्ने गरेको सर्वेक्षण प्रतिवेदनले देखाएको छ।
चुरोटको तुलनामा धुँवारहित अन्य सूर्तिजन्य पदार्थ सेवन गर्नेको संख्या बढी रहेको सर्वेक्षणले देखाएको छ। चुरोट सेवन गर्ने १४ दशमलव ५ प्रतिशत रहेका छन् भने धुँवारहित सूर्तिजन्य पदार्थ सेवन गर्नेको संख्या १८ दशमलव ३ प्रतिशत रहेको छ।
चुरोट तथा सूर्तिजन्य पदार्थ मुटु, मधुमेह, रक्तचाप, क्यान्सर जस्ता नसर्ने रोगको प्रमुख कारण हो। चिकित्सिकले दीर्घकालीन रोगका प्रमुख कारण भएकाले यस्ता पदार्थ सेवन नगर्न सुझाव दिने गरेका छन्।
विद्युतीय चुरोट प्रयोग गर्ने बढे
सर्वेक्षणअनुसार नेपालमा विद्युतीय चुरोट प्रयोग गर्नेको संख्या बढेको छ। विगतमा यस्ता चुरोट प्रयोग गर्नेको संख्या नगन्य हुन्थ्यो। तर, अहिले सर्वेक्षणले झन्डै २ प्रतिशतले विद्युतीय चुरोट प्रयोग गर्ने गरेको देखाएको छ। सर्वेक्षणअनुसार १ दशमलव ७ प्रतिशतले विद्युतीय चुरोट प्रयोग गर्ने गरेका छन्। भारत, चीन तथा धेरै देशले विद्युतीय चुरोट प्रतिबन्ध लगाइसकेका छन्। नेपालले पनि यस्ता चुरोट प्रतिबन्ध लगाउने निर्णय गरे पनि कार्यान्वयनमा आउन सकेको छैन।
दोब्बर बढी नुन सेवन
विश्व स्वास्थ्य संगठनको मापदन्डअनुसार एक व्यक्तिले एक दिनमा ५ ग्रामभन्दा बढी नुन खान हुँदैन। तर, सर्वेक्षणअनुसार नेपालीले उक्त मापदन्डभन्दा झन्डै दोब्बर मात्रामा नुन खाने गरेको पाइएको छ।
सर्वेक्षणअनुसार नुन खानेमा महिलाभन्दा पुरुष अगाडि रहेका छन्। पुरुषले हरेक दिन ९ दशमलव १ ग्राम र महिलाले ८ दशमलव ७ ग्राम नुन खाने गरेको प्रतिवेदनमा उल्लेख छ। सर्वेक्षणमा नुन सेवनको मात्रा स्पट युरिन (पिसाब) परीक्षणका आधारमा निकालिएको हो।
चिकित्सकहरुका अनुसार धरै नुन सेवनले रक्तचाप बढ्ने, मुटुरोग लाग्ने, शरीर सुन्निने जस्ता समस्या हुनसक्छ भने कम नुन सेवन गर्दा पनि शरीरबाट पानी खेर जाने, स्नायू तरंग परिवहनमा समस्या देखापर्ने, मांसपेसी खुम्चिनमा समस्या देखापर्ने जस्ता समस्या देखा पर्छन्।
सर्वेक्षणअनुसार खानामा नुनको मात्रा नियन्त्रण गर्न सधैंजसो केही उपाय अपनाउनेको प्रतिशत जम्मा २ दशमलव ६ मात्र रहेको छ। नुनको मात्रा घटाउने उपायअन्तर्गत तयारी खानेकुरा कम मात्रामा खाने वा खाँदै नखाने, घर बाहिरको खाना नखाने, खानामा नुन नै कम मात्रामा हाल्ने लगायतका विषय हेरिएको थियो।
जंक फुड खाने झन्डै २० प्रतिशत
सर्वेक्षणअनुसार जंक फुड वा नुन बढी मात्रामा हालिएको तयारी खानेकुरा खाने १९ दशमलव ५ प्रतिशत रहेका छन्। यस्ता खानेकुरा महिलाभन्दा पुरुषले बढी खाने गरेको पनि सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनअनुसार २१ दशमलव १ प्रतिशत पुरुष र १८ दशमलव १ प्रतिशत महिलाले यस्ता खानेकुरा खान्छन्। यस्तै, खाना खानुअघि वा खाइरहँदा नुन वा नुनिलो सस सधैं वा प्रायः थपेर खानेको प्रतिशत ९ दशमलव ८ रहेको छ।
यसैगरी, सर्वेक्षणले मदिरा सेवन गर्नेको पनि प्रतिशत निकालेको छ। जसअनुसार नेपालका २८ प्रतिशतले मदिरा सेवन गर्ने गरेको पाइएको छ। सर्वेक्षण प्रतिवेदनअनुसार ७२ दशमलव २ प्रतिशतले जीवनमा कहिले पनि मदिरा सेवन गरेका छैनन्। मदिरा सेवन गर्नेमा महिलाभन्दा पुरुष अगाडि रहेका छन्। ४४ प्रतिशत पुरुषले मदिरा सेवन गर्छन् भने १४ दशमलव ५ प्रतिशत महिलाले मदिरा सेवन गर्छन्।
मोटोपन समस्या
शारीरिक परिश्रमको कमी, असन्तुलित खानपान, व्यायामको कमी, जंकफुडको प्रयोग लगायतका कारण नेपालमा मोटोपनको समस्या बढ्दै गएको पनि सर्वेक्षणले देखाएको छ। अधिक वजन र मोटोपनका विषयमा पनि गरिएको सर्वेक्षणअनुसार यो समस्या सबैभन्दा धेरै प्रदेश ३ मा रहेको छ। प्रदेश ३ का ४२ दशमलव ६ प्रतिशत जनतामा अधिक वजन तथा मोटोपन देखिएको छ। मोटोपनको समस्या हुनेमा दोस्रो स्थानमा गण्डकी प्रदेश छ। त्यहाँका ३४ दशमलव ६ प्रतिशत मानिसमा मोटोपन तथा अधिक वजन रहेको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ। त्यसपछि क्रमशः प्रदेश १ का २२ दशमलव ३, प्रदेश २ का १९ दशमलव ९, प्रदेश ५ का १९ दशमलव ५, कर्णाली प्रदेशका १२ दशमलव ३ र सुदूरपश्चिमका १२ दशमलव २ प्रतिशतमा मोटोपनको समस्या छ।
चिकित्सकका अनुसार मोटोपन भएका व्यक्तिमा विभिन्न रोगको जोखिम उच्च हुन्छ। मोटोपन भएका धेरैजसो मानिसमा उच्च रक्तचाप, कोलेस्टेरोल, युरिक एसिड बढी हुनुका साथै मधुमेहजस्ता दीर्घकालीन स्वास्थ्य समस्या उत्पन्न हुन्छन्। मोटोपन भएका मानिसमा मुटुरोगको जोखिम उच्च हुन्छ।
सर्वेक्षणका क्रममा नसर्ने रोगको जोखिममा रहेकाहरुको शारीरिक क्रियाकलापका विषयमा पनि अध्ययन भएको थियो। जसअनुसार शारीरिक क्रियाकलाप नगर्नेको संख्या पाँच वर्षअघिको तुलनामा बढेको पाइएको छ। पाँच वर्षअघि जोखिममा रहेका तर पनि निष्क्रिय जीवन जिउने ६ दशमलव ५ रहेको थियो। अहिले यो संख्या बढेर ७ दशमलव ६ प्रतिशत पुगेको छ।
स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी अध्यक्ष डा झा नेपालमा धेरै खाने र अल्छी भएर बस्नेको संख्या बढ्नु निकै चिन्ताजनक भएको बताउँछन्। ‘हाम्रो सर्वेक्षणले बसीबसी खानेको संख्या बढ्दै गएको देखाएको छ,’ उनले भने, ‘यो भनेको नसर्ने रोगको भार बढ्दै जानु हो। यसले त अबको पुस्ता नै रोगी हुने चिन्ता थपिदिएको छ।’
५ दशमलव ८ प्रतिशतमा मधुमेहको समस्या
सर्वेक्षणअनुसार निष्क्रिय जीवनशैली र खानपानमा गरेको मनपरीका कारण मधुमेह रोगीको संख्या पनि बढ्दै गएको छ। पाँच वर्षअघि ३ प्रतिशत हाराहारीमा मात्र मधुमेका बिरामी नेपालमा थिए। तर, अहिले यो बढेर ५ दशमलव ८ प्रतिशत पुगेको छ। मधुमेहको समस्या ६ दशमलव ३ प्रतिशत पुरुष र ५ दशमलव ३ प्रतिशत महिलामा रहेको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ।
सर्वेक्षणअनुसार मधुमेहको समस्या भएकामध्ये ७९ प्रतिशतले औषधि सेवन गर्दैनन्। चिकित्सकका अनुसार समयमा नै समस्याको पहिचान भएपछि चिकित्सकको सल्लाहअनुसार नियमित औषधि सेवन गर्दा रोगका कारण निम्तिने जटिल समस्याबाट जोगिन सकिन्छ।
मधुमेहको समस्या प्रदेश १ का ४ दशमलव ४, प्रदेश २ का ११ दशमलव ३, प्रदेश ३ का ४ दशमलव १, गण्डकी प्रदेशका ३ दशमलव २, प्रदेश ५ का ६ दशमलव ४, कर्णाली प्रदेशका शून्य दशमलव ७ र सुदूरपश्चिम प्रदेशका ३ दशमलव ९ प्रतिशत मानिसमा रहेको छ।
उच्च रक्तचाप र कोलेस्टेरोलको समस्या
सर्वेक्षणअनुसार नेपालमा उच्च रक्तचाप र कोलेस्टेरोल (रगतमा जम्मा भएको खराब चिल्लो पदार्थ) को समस्या पनि बढ्दै गएको छ। २४ दशमलव ५ प्रतिशत नेपालीमा उच्च रक्तचाप र ११ दशमलव १ प्रतिशतमा कालेस्टेरोलको समस्या रहेको प्रतिवेदनमा उल्लेख छ।
उच्च रक्तचापको समस्या पुरुषमा बढी छ भने कोलेस्टेरोलको समस्या महिलामा। प्रतिवेदनअनुसार २९ दशमलव ८ प्रतिशत पुरुष र १९ दशमलव ७ प्रतिशत महिलामा उच्च रक्तचापको समस्या छ। तर, कोलेस्टेरोलको समस्या भने पुरुषको तुलनामा महिलामा झन्डै दोब्बर बढी छ। ७ दशमलव ८ प्रतिशत पुरुषमा कोलेस्टेरोलको समस्या छ भने १४ प्रतिशत महिलामा यो समस्या छ।
रगतमा खराब चिल्लो पदार्थ बढी हुँदै जानु भनेको हृदयाघातको जोखिम हो। रगतका नशामा जम्मा भएका खराब चिल्लो पदार्थले मुटुको नशा जुनसुकै बेला पनि बन्द गराउनसक्ने खतरा रहन्छ। नियमित व्यायाम र खानपानमा ध्यान दिन सकियो भने यो समस्याबाट छुटकारा पाउन सकिने चिकित्सक बताउँछन्।
कुन रोगबाट कति मृत्यु ?
नेपालमा हुने कूल मृत्युमध्ये ६६ प्रतिशतको मृत्यु मुटु, श्वासप्रश्वास, मिर्गौला, मधुमेह, क्यान्सर जस्ता नसर्ने रोगका कारण भएको पछिल्लो तथ्यांकले देखाएको छ। विश्वव्यापी रुपमा भएको रोगव्याधीको भार (बर्डेन अफ डिजिज)को २०१७ को प्रतिवेदनअनुसार नेपालमा उक्त वर्ष कूल १ लाख ८२ हजार ७ सय ५१ जनाको मृत्यु भएको थियो। तीमध्ये ६६ प्रतिशतको मृत्यु नसर्ने रोगबाट र ९ प्रतिशतको मृत्यु चोटपटकबाट भएको छ। बाँकी २५ प्रतिशतको मृत्यु भने सरुवा रोग, मातृ तथा नवजात शिशु तथा पोषणसम्बन्धी रोगबाट भएको छ।
पछिल्लो केही वर्षयता खानपान र जीवनशैलीमा आएको अस्वस्थ परिवर्तनका कारण नेपालमा नसर्ने रोगको भार बढ्दै गइरहेको विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अध्ययनहरुले देखाएका छन्। अस्पतालमा उपचारका लागि आएका बिरामीको तथ्यांकले पनि नेपालमा मधुमेह, उच्च रक्तचाप, मुटु, मिर्गौला, मस्तिष्कघात, क्यान्सर जस्ता रोगको भार बढ्दै गइरहेको देखाएको छ। रोगका कारण एकातर्फ मृत्युदर बढिरहेको छ भने अर्कोतर्फ अशक्त भएर बाँच्नेको संख्या पनि थपिइरहेको छ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले उक्त प्रतिवेदनको विश्लेषण गरी नेपाल बर्डेन अफ डिजिजको प्रतिवेदन यही वैशाखमा सार्वजनिक गरेको हो। प्रतिवेदनअनुसार नेपालमा नसर्ने रोगहरुमध्ये विशेषगरी मुटुरोग र दम अशक्तता मृत्युका प्रमुख दुई कारणका रुपमा देखापरेका छन्।
सन् २०१७ मा नेपालमा मृत्युको प्रमुख कारणहरु क्रमशः मुटुरोग १६ दशमलव ४५ प्रतिशत, श्वासप्रश्वासको दीर्घरोग (दम) ९ दशमलव ८५ प्रतिशत, झाडापखाला ५ दशमलव ९५ र श्वासप्रश्वाससम्बन्धी संक्रमण ५ दशमलव १५ प्रतिशत रहेका छन्। त्यसपछि मृत्युको अन्य कारणमा मस्तिष्कघात, मिर्गौला रोग, क्यान्सर, मधुमेह, कलेजो फेल, अल्जाइमर्स लगायतका नसर्ने रोग पनि रहेका छन्।
प्रतिवेदनअनुसार रोग र मृत्युलाई प्रभाव पार्ने प्रमुख जोखिमका तत्वमा क्रमशः समय अगावै हुने जन्म, उच्च रक्तचाप, धूमपान र रगतमा उच्च चिनीको मात्रा रहेका छन्। उच्च रक्तचाप र रगतमा चिनीको मात्रा बढ्दै जानुमा शारीरिक व्यायामको कमी, अस्वस्थ खानपान र जीवनशैली, वायु प्रदूषण लगायतका कारण हुन्।