काठमाडौं- उपचारका क्रममा सुत्केरीको मृत्युका विषयलाई लिएर आफन्तले अस्पतालमा तोडफोड गरेपछि नेपाल मेडिकल कलेजका कर्मचारीले सरकारसँग सुरक्षाको माग गरेका छन्।
मेडिकल कलेजको शिक्षण अस्पताल स्वतन्त्र कर्मचारी युनियनले आइतबार १२ बजेपछि आकस्मिक बाहेकका सेवा बन्द गरेका छन्। कर्मचारी युनियनले सुरक्षाको प्रत्याभुति नभएसम्म सेवा दिन नसकिने बताएका छन्।
अस्पतालमा सुत्केरीका क्रममा भोजपुर षडानन्द नगरपालिका ८ की सुनिता राईको २४ गते राती मृत्यु भएको थियो। सुत्केरी राईको मृत्यु भए पनि नवजात शिशु भने स्वस्थ छिन्।
सुत्केरीका क्रममा अस्पतालका तर्फबाट लापरबाही भएको आफन्तको आरोप छ। आफन्तले घटनाको विषयमा छानबिन गर्दै दोषीलाई कारबाही गर्नुपर्ने माग गरेका छन्।
सुत्केरीको मृत्यु भएपछि आफन्तले अस्पताल परिसरमा शनिबार तोडफोड गरेका थिए।
आइतबार पनि आफन्तले अस्पताल परिसरमा नाराबाजी गरिरहेका छन्।
नाराबाजी र शनिबारको तोडफोडका कारण अस्पतालको सेवा प्रभावित भएको छ।
अस्पताल प्रशासनले अहिलेसम्म घटनाको विषयमा आधिकारिक धारणा सार्वजनिक गरेको छैन।