काठमाडौं– १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा भाग लिएका २८ जना खेलाडीको स्वास्थ्यमा समस्या आएपछि उपचार गर्नु परेको छ।
२८ जनामध्ये २६ जनाको दशरथ रंगशाला नजिकै रहेको ब्लुक्रस अस्पताल र २ जनाको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भएको हो। २८ जनामध्ये ६ जना भने अझै अस्पतालमा नै उपचाररत छन्।
अस्पतालमा भर्ना भएर उपचाररतमध्ये ४ जना ब्लुक्रस र २ जना बयोधामा छन्।
ब्लुक्रस अस्पतालका मेडिकल डाइरेक्टर डा प्रज्वलमान श्रेष्ठका अनुसार विभिन्न स्वास्थ्य समस्या लिएर अस्पतालमा आएका २६ जनामध्ये ४ जनालाई भर्ना नै गरेर उपचार गर्नुपर्ने अवस्था आएको छ।
‘अहिले अस्पतालमा भर्ना भएर उपचार भइरहेका खेलाडीमध्ये एक जना पोष्टअप वार्डमा, २ जना आइसियु र एक जना जेनरल वार्डमा रहेका छन्,’ उनले भने, ‘भर्ना हुने ४ जनामध्ये एक जना नेपाली खेलाडी हुन् भने ३ जना श्रीलंकाका हुन्।’ उनले आइसियु र पोष्टअप वार्डमा रहेका खेलाडीलाई डिस्चार्ज गर्न अझै केही दिन लाग्ने जानकारी दिए।
बयोधामा भर्ना भएका दुई खेलाडीलाई डुंगु लागेको र उनीहरुमध्ये एक जनाको मिर्गौला वरपर पनि केही समस्या देखिएको अस्पतालले जनाएको छ।
कुन देशका कति खेलाडीमा समस्या?
दुई अस्पतालले दिएको जानकारी अनुसार २२ जना विदेशी र नेपालका ६ खेलाडीको स्वास्थ्यमा समस्या आएको छ। ब्लुक्रसमा लगिएका नेपाली खेलाडीमध्ये ४ जना सामान्य चोटपट, एक जना बेहोस भएर र अर्का एकको घुँडामा गम्भिर चोट लागेर अस्पताल लगिएको थियो। घुँडामा चोट लागेका खेलाडीको शल्यक्रिया गरिएको छ।
बिरामी पर्नेमध्ये सबैभन्दा धेरै श्रीलंकाका खेलाडी रहेका छन्। श्रीलंकका ११ खेलाडीमा डेंगु देखिएको हो। उनीहरुमध्ये ९ जनाको ब्लुक्रस र २ जनाको बयोधामा उपचार भएको हो।
भारतबाट आएका ३ खेलाडीको स्वास्थ्यमा पनि समस्या देखिएको छ। ३ जनामध्ये एक जनामा डेंगु र दुई जनालाई सामान्य चोट लागेको छ।
माल्दिभ्सका ३ खेलाडीको पनि स्वास्थ्यमा समस्या देखिएपछि उपचार गरिएको छ। उनीहरुमध्ये २ जनालाई चोटपटक र एक जनालाई पखला लागेको थियो। उपचारपछि उनीहरु डिस्चार्ज भइसकेका छन्।
बंगलादेशका ३ र पाकिस्तानका २ खेलाडीको पनि स्वास्थ्यमा समस्या भएपछि उपचार गरिएको ब्लुक्रस अस्पतालले जनाएको छ। अस्पतालमा भर्ना भएका सबै खेलाडीलाई विशिष्ट उपचार सेवा दिएको अस्पतालले जनाएको छ।