काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निरीक्षण गरेका छन्। अस्पतालको निरीक्षणपछि मन्त्री ढकालले जनताको हितमा काम गर्न आग्रह गरे।
उनले जनताको सेवा गर्न सरकारी सेवामा प्रवेश गरेका कर्मचारीले निष्ठाकासाथ काम गर्नुपर्ने बताए। ‘सेवामा प्रवेश गरेकाले जनताको पुजारी भएर काम गर्नुपर्छ,’ उनले भने, ‘यस क्रममा केही समस्या परेमा त्यसको समाधान गर्दै सरकारका तर्फबाट आवश्यक पर्ने सहयोग गर्न तयार छौं।’
उनले अस्पतालमा आर्थिक रुपमा कमजोर बिरामीलाई निशुल्क उपचार सेवा दिन पनि आग्रह गरे।
उनले आफू स्वास्थ्य क्षेत्रमा नयाँ भएकाले अध्ययन गरिरहेको र अध्ययनपछि जनताको सेवा गरेर आफ्नो जिम्मेवारी सावित गर्ने पनि बताए। ‘जनताको सेवा गरेर आफ्नो जिम्मेवारी सावित गर्छु’ उनले भने, ‘हिजोको बेथिति तथा कमिकमजोरीलाई दोहोरीन नदिने गरी सुधारका काममा अगुवाको रुपमा काम गर्नेछु।’
मन्त्री ढकालले आजै, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको समेत निरीक्षण गरेका छन्। सो क्रममा विभागका महानिर्देशक डा वासुदेव उपाध्यायले आयुर्वेद क्षेत्रको जानकारी दिँदै सात वटै प्रदेशमा आयुर्वेद अस्पताल स्थापना गर्ने बताए।
उनले यसका लागि जनशक्ति र पूर्वाधारको आवश्यकता रहेको पनि जानकारी दिए।
महानिर्देशक उपाध्यायको कुरा सुनेपछि मन्त्री ढकालले सबैको कुरा सुनेपछि आफूले आवश्यक निर्णय गर्ने बताए।