डा रुना झा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक हुन्।
परिवारमा दाजुभाइ नभएपनि रुना बहिनीहरु भाइटीका लगाउँछिन्।
भन्छिन् - दाजुभाइलाई मात्र टीका लगाइदिने चाड होइन यो।
हामी ५ जना दिदीबहिनी छौँ। म भने जेठी हुँ। जसमध्ये ३ जना डाक्टर छन् र १ जना वकिल छन्। २ जना विदेश छन् र बाँकी हामी ३ जना यता हुन्छौँ। दाइभाइ नभए पनि हामीले कहिल्यै पनि अभाव महसुस गरेका छैनौँ। तर गाउँघर छरछिमेकमा छोरा छैनन् भनेर खिस्याएझैँ गर्छन्, तर हामी मतलब गर्दैनौँ।
सबै दिदीबहिनी आफ्नो खुट्टामा उभिन सफल छौँ। पहिला बुवामम्मी पनि नातागोताहरुको कुरा सुनेर अलि नमिठो मान्नुहुन्थ्यो छोरी छोरी मात्रै छन् के गर्लान् भनेर। अहिले भने खुसी हुुनुहन्छ, हामीप्रति गर्व गर्नहुन्छ।छोरा नभएको अभाव महसुस गर्नुहुन्न। छरछिमेक पनि हाम्रो प्रगति देखेर चुप लाग्छन्।
हरेक वर्ष आउने भाइटीका हामी रमाइलो गरी मनाउँछौँ। सानैदेखि नै यसरी टीका लगाएर मनाउँदै आएको छौँ। आज हामी दिनभर सबै जना मिलेर मिठो मिठो पकाउँछौँ। अनि एक अर्कालाई टीका लगाइदिन्छोँ। पहिला भतिजहरुलाई लगाइदिन्थ्यो कहिलेकाहीँ। तर कहिले आउने र कहिले नआउने त्यसैले त्यति मतलब लाग्दैन।
हामी एक अर्कालाई लुगाफाटा दिन्छौँ। कहिलेकाहीँ टीका मात्र लगाएर रमाइलो गर्छौँ। हामी दिदीबहिनीहरु एकदमै मिल्छौँ। अरु दिन सबैजना व्यस्त हुन्छन् आआफ्नो काममा। तर पनि यो दिन व्यस्तताको बावजुद पनि भेट्छौँ हामी।
यस दिनले भेटघाट जुराइदिन्छ ,गफ हुन्छ, खुसी लाग्छ। हामी माइती बल्खुमा जम्मा हुन्छौँ अनि दिनभर रमाइलो गर्छौँ। दाजुभाइलाई नै भाइटीका लगाउने चलन छ तर हामी दिदीबहिनी लगाउँछौँ।
प्रस्तुति : बुनु थारु