काठमाडौं– नेपालमा आत्महत्याको अवस्था भयावह बन्दै गएको तथ्यांकले देखाएको छ। नेपाल प्रहरीका अनुसार पछिल्लो एक वर्षमा करिब ६ हजार जनाले आत्महत्या गरेका छन्। आर्थिक वर्ष २०७५/७६ मा नेपालमा ५ हजार ७ सय ५४ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकमा छ।
पछिल्लो पाँच वर्षको तथ्यांक हेर्ने हो भने आत्महत्याको दर घट्नुभन्दा बढ्दै गएको छ। आव ०७०/७१ मा ४ हजार ५ सय ४ जनाले आत्महत्या गरेका थिए भने २०७१/७२ मा आत्महत्या गर्नेको संख्या ४ हजार ३ सय ३२ जना रहेको प्रहरीले जनाएको छ।
त्यस्तै २०७२/७३ मा ४ हजार ६ सय ८० जनाले आत्महत्या गरेका थिए भने २०७३/७४ मा यो संख्या बढेर ५ हजार १ सय २४ पुगेको थियो। यस बीचमा तीन वर्ष निरन्तर आत्महत्या गर्नेको संख्या बढेको देखिन्छ। ०७४/७५ सालमा ५ हजार ३ सय १७ जनाले आत्माहत्या गरेको प्रहरी तथ्यांकले देखाउँछ भने गत आवमा ५ हजार ७ सय ५४ ले आत्महत्या गरेका छन्। यो अघिल्लो आवभन्दा ४३७ ले बढी हो।
आव०७४/७५ सालको तथ्यांक हेर्ने हो भने आत्महत्या गर्नेमा पुरुषको संख्या २ हजार ८ सय ५४ पुरुष, २ हजार २ सय महिला, १ सय ११ बालक र १ सय ३९ बालिका रहेका पाइएको छ।
महानगरीय प्रहरी परिसरका अनुसार आत्महत्या गर्नेमा १५ देखि ४५ वर्ष उमेर समूहका ७२ प्रतिशत छन् भने त्यसमा पनि ज्यालादारीमा काम गर्ने र बेरोजगार धेरै छन्। करिब ७० प्रतिशतले झुन्डिएर आत्महत्या गर्ने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ।
आत्महत्याको प्रयास गर्नेमध्ये झण्डै ९५ प्रतिशत मानसिक रोगी रहेको विश्वव्यापी तथ्यांकले देखाउँछ भने ८० प्रतिशत कारण डिप्रेसन मानिछ। आत्महत्या गर्नेहरुमा ९० प्रतिशत कारण मानसिक र व्यावहारिक समस्या रहेको पाइन्छ।
माथि उल्लेखित तथ्यांक प्रहरीमा भएको दर्ता वा जानकारी मात्रै हो। आत्महत्या गर्नेको संख्या यो भन्दा बढी हुनसक्ने चिकित्सक बताउँछन्।
विश्व स्वास्थ्य संगठनको २०१२ को सर्वेक्षण अनुसार नेपाल आत्महत्या गर्ने देशमध्ये ७औं नम्बरमा थियो। विश्व स्वास्थ्य संगठनका अनुसार मुत्यु भएका एक लाख मानिसमध्ये २५ जनाको मृत्यु आत्महत्याका कारणले भएको मान्न सकिन्छ।
संसारभर १५ देखि २९ वर्ष समूहमा मानिसको मृत्यु हुनुमा आत्महत्या दोस्रो प्रमुख कारण हो।
पाटन अस्पतालका वरिष्ठ मानसिक रोग विशेषज्ञ डा रवि शाक्यका अनुसार जानीजानी आफ्नो जिन्दगी अन्त्य गर्ने कार्यलाई आत्महत्या भनिन्छ। आफ्नो समस्याहरुप्रति पूर्ण रुपले असहाय र निराश भएर जिउनुभन्दा मर्नु नै उचित समाधान ठानी मानिसहरुले आत्महत्याको बाटो रोज्ने गरेको उनी बताउँछन्।
मर्ने इच्छा नराखी अन्य उपलब्धिको लागि जानीजानी आफूलाई हानि गर्नुलाई आत्महत्या नमानिने चिकित्सक शाक्य बताउँछन्। आत्महत्या अत्यन्त जटिल मनोवैज्ञानिक, जैविक एवं अपराध मानिन्छ। तर आधुनिक विज्ञानमा आत्महत्यालाई गम्भीर मानसिक स्वास्थ्य समस्याको उपज र आत्महत्याको सोच तथा कोसिसलाई तत्कालै उपचार गर्नुपर्ने संवेदनशील चिकित्सकीय विपदको रुपमा हेरिन्छ।
प्रत्येक वर्ष विश्वमा १६ लाख व्यक्तिले आत्महत्याको प्रयास गर्छन् भने ८ लाख मानिसको मत्युको कारण आत्महत्या हुने गरेको अध्ययनले देखाएको छ।
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार वर्षेनी करिब १० लाख मानिस आत्महत्याको प्रयास गर्छन् भने ४० सेकेण्डमा एकको मृत्यु हुने गरेको पाइन्छ। यो संख्या समस्त प्राकृतिक तथा मानव निर्मित प्रकोप, युद्ध, आतकंकारी हमला, हत्या र हिंसाहरुबाट हुने वार्षिक मृत्युदर भन्दा पनि बढी हो। प्राय महिलाहरु पुरुषभन्दा बढी आत्महत्याको प्रयास गर्ने गर्दछन्। तर खतरनाक तरिका अपनाउने हुनाले पुरुष नै बढी मर्ने गरेको पाइन्छ।
नेपालमा आत्महत्या गर्नेको एकिन संख्या भने पत्ता लगाउन सकिएको छैन ।
आत्महत्याका कारण
- मानसिक र व्यावहारिक समस्या (९० प्रतिशत)
- मनोसामाजिक तथा अन्य आघातजन्य घटना
- घरेलु हिंसा र यौन दुर्व्यवहार
- लागुऔषध र मादक पदार्थको दुर्व्यसन
- एक्लोपन
- अन्तरवैयक्तिक सम्बन्ध बिग्रनु
- आफ्नो नजिकको मान्छे गुमाउनु
- पढाइ एवं काममा असफलता
- प्रेममा असफलता
- आर्थिक समस्या
- सामाजिक रूपमा बदनाम हुनु
- नकारात्मक तनाव व्यवस्थापन र सामना विधि, आदि
सम्भावित लक्षण
- बारम्बार निराशापन, एक्लोपन र फन्दामा परेको महसुस हुनु
- लागुऔषध र मादक पदार्थ सेवन बढ्नु
- निरन्तर छटपटी र व्याकुलता बढेको महसुस हुनु
- निद्रामा गडबडी र भावनात्मक उतारचढाव
- आत्महत्या गर्ने योजना बनाउनु, सामाजिक सञ्जालहरूमा आत्महत्या गर्ने विचार, योजना तथा निराशाजनक अभिव्यक्तिहरू प्रकट गर्नु
- भविष्यप्रति निराशापन बढ्नु (भविष्य अन्धकार देख्नु, हेलचेक्रयाइँपूर्ण व्यवहार देखाउनु, चाँडो
रिसाउनु, आफ्ना निजी सरसामान अर्कालाई दिनु र सामाजिक क्रियाकलाप (भोज र भेला),
- साथीभाइ आदिबाट टाढिनु
जोखिमका तत्त्व
- मानसिक समस्या (उदासिनता, बाइपोलार डिसअर्डर, कडा मानसिक समस्याहरू आदि)
- कमजोर सामाजिक, आर्थिक र शैक्षिक स्तर
- बेरोजगारी/रोजगार गुमाउनु
- सामाजिक बहिष्कार र एक्लोपन
- पारिवारिक जीवन, सामाजिक सम्बन्ध र सहयोग प्रणालीमा समस्या
- समुदाय वा परिवारमा आत्महत्याको घटना वा प्रयास भएको
- शारीरिक एवं यौन शोषणबाट हुने आघात
- तनावको कमजोर व्यवस्थापन
- दीर्घरोग एवं दीर्घकालीन दुखाइ