काठमाडौँ– राष्ट्रिय ट्रमा सेन्टरको छैटौं तलाको बेड नम्बर ६४० मा ५ महिनादेखि उपचाररत छन्, तेह्रथुमका ४२ वर्षीय टीका भण्डारी। जति दु:ख भए पनि अनुहारमा दु:खको अलिकति छनक समेत नदेखाई श्रीमती सीता उनको रेखदेखमा खटिएकी छिन् ।
तेह्रथुममा सामान्य कुटोकोदालो गरेर जीविकोपार्जन गर्ने भण्डारी दम्पतिका दुई छोरी र एक छोरा गरी तीन सन्तान छन्। उब्जनीले ६ महिना पनि खान नपुग्ने भएकाले उनीहरु ज्याला गरेर दिनमा २ सय रुपैयाँ कमाउँथे। यसरी नै सन्तानको शिक्षादीक्षा र घर परिवार चल्थ्यो।
छोराछोरी नजिकैको सरकारी स्कुलमा पढ्छन्। जेठी छोरी १० मा पढ्छिन् भने कान्छो छोरो पाँचमा। यसरी नै उनीहरुको जीवन चल्दै थियो।
नजिकै जंगल भएकोले दाउरा, घाँस गर्न जंगल पुग्थे। २०७५ साल चैत १ गते पनि दाउरा खोज्न भनेर जंगल गएका थिए, सीता र उनका श्रीमान् टीका।
दाउरा लिएर घर फर्कने क्रममा घर नजिकैको खेतनजिक टीकालाई एक्कासि चक्कर लागेजस्तो भयो। उनी खेतको आलीबाट लडे। टाउकोको भाग तल परेकोले उनी आफैं उठेर घर जान सकेनन्। गाउँलेको सहयोगमा उनलाई घर लगियो।
बाहिरी चोट नलागेकोले सीताले सामान्य लडेको हो, केही हुँदैन भनेर खासै चासो दिइनन्। तर टीका भने हिँडडुल गर्न सक्दैनथे। गाउँबाट धाँमी बोलाइयो।
धाँमीले भूत लागेको भन्दै पूजा गर्न भने। बेलुकासम्म हिँड्न सक्छ भन्दै फुकफाक गरेर धाँमी आफ्नो बाटो लागे। तर टीकाको अवस्थामा सुधारको कुनै संकेत देखिएन।
धरानदेखि धाँमी बोलाइन सीताले। भूत, प्रेत लागेको भन्दै दिनभर पूजा गरियो। तर कुनै फरक आएन।
जति धाँमीलाई देखाउँदा र पूजापाठ गर्दा पनि निको भएन। बरु उल्टै टीकाको गर्धन सुन्निन थाल्यो। त्यसपछि मात्र सीताले श्रीमान्लाई गाउँ नजिकै रहेको हेल्थ पोष्टमा जँचाएर एक महिनासम्म औषधि खुवाइन्। त्यसले पनि निको नभएपछि गाउँले र हेल्थ पोष्टका स्वास्थ्यकर्मीले श्रीमान्लाई काठमाडौं लैजान भने।
खेताला गरेर जेनतेन गुजारा चलाइरहेका उनीहरुलाई उपचार गर्न काठमाडौं आउनु सहज थिएन। छिमेकीसँग ८ हजार ऋण गरेर सीताले श्रीमान्लाई काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टर ल्याइन्। जब विषेशज्ञ चिकित्सकले बिरामी जाँचे अनि पत्ता लाग्यो, टीकाको त मेरुदन्ड भाँचिएको रहेछ। ५ महिनामा २१ दिन आइसियुमा राखियो भने त्यसपछि वार्डमा राखेर उपचार गरियो तर पनि उनलाई निको भएन। यस बीचमा ३ पटक शल्यक्रिया गरियो टीकाको।
१०/१२ दिनमा कसो निको नहोला भन्दै एक जोर लुगा लिएर काठमाडौं आएकी सीताको अस्पतालको बसाइ ५ महिना बित्यो। जति उपचार गरे पनि निको नहुने भएपछि श्रीमान्लाई घर लैजाने निर्णयमा पुगिन् सीता।
उनलाई छोराले बाबालाई जसरी पनि निको बनाएर लिएर आउनुस् है भनेर पठाएका थिए। उनले निराश हुँदै भनिन्, 'छोराको इच्छा पूरा गर्न सकिनँ।' नर्सले चिन्ता नलिनुस, विस्तारै निको हुन्छ भन्दा सीतालाई कताकता विश्वास पनि लाग्छ, तर अस्पतालको बसाइ लम्बिने तर निको नहुने लक्षणले उनलाई भने घर फर्किन हतार भइसकेको छ। 'म अब यहाँ बस्न सक्दिनँ, उहाँले पनि मलाई घर लैजाऊ भन्नुभएको छ,' सीताले भनिन्।
श्रीमान् बिरामी हुनुभन्दा पहिलेदेखि नै सीताको छातीमा साना गिर्खा आएका थिए। अस्पताल जाने भन्दाभन्दै श्रीमान् नै बिरामी भएपछि उनले आफ्नो उपचार गराउन पाइनन्। अहिले ती गिर्खा बढ्दै गएर उनलाई दुख्न थालेको छ। 'उतिबेला अस्पताल गइएन, अब श्रीमान्को उपचार गराउँ कि आफ्नो,' सीताले पीडा सुनाइन्, 'निकै दुख्छ, तर उपचार गराउने पैसा छैन। खै भगवानले पनि हामीजस्ता गरिबलाई दु:खमाथि दु:ख थप्दारहेछन्।
श्रीमान्को इच्छा अनुसार सीताले श्रीमान् लिएर घर फर्किएकी छिन्। उनले घर फर्किन लाग्दा पनि अस्पतालमा उपचार गर्दा लागेको खर्च र औषधिको गरी करिब १ लाख ६० हजार रकम तिर्न सकिनन्। यो पैसा अस्पतालले मिनाहा गरिदिएको छ।