काठमाडौं– काठमाडौं महानगरपालिकाभित्रका स्कुलमा गरिएको परीक्षणमा १२ जनामा हात्तीपाइले संक्रमण देखिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको एक सर्वेक्षणमा यस्तो तथ्यांक सार्वजनिक भएको हो।
महानगरपालिकाका ३२ स्कुलका १६ सय ४३ जनामा गरिएको परीक्षणमा १२ जनामा संक्रमण भेटिएका हो। सर्वेमा ५ देखि ७ वर्ष उमेरका विद्यार्थी सहभागी थिए।
त्यस्तै काठमाडौं जिल्लाका नगरपालिकाभित्रका १५ सय ६९ विद्यार्थीमा गरिएको परीक्षणमा ४ जनामा हात्तीपाइलेको संक्रमण भेटिएको छ।
ललितपुर महानगरपालिकामा १५ सय २१ विद्यार्थीमा गरिएको परीक्षणमा ५ जनामा हात्तीपाइलेका जीवाणु भेटिएका छन् भने भक्तपुरमा १५ सय ४९ जनामा गरिएको परीक्षणमा ३ जनामा संक्रमण देखिएको महाशाखाले जनाएको छ।
रोग नियन्त्रण महाशाखाले २७ जिल्लाहरुमा दोस्रो र तेस्रो चरणको परीक्षण गरेको थियो। जसमध्ये १३ जिल्लामा दोस्रो चरणको परीक्षण र १४ जिल्लाहरुमा तेस्रो चरणको परीक्षण गरिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कार्यक्रम अधिकृत प्रदीप रिमालले बताए। उनले भने, ‘पहिलो र दोस्रो परीक्षण गरिएका जिल्ला जीवाणु नभेटिएर औषधि रोकेका जिल्ला हुन् भने तेस्रो परीक्षण गरिएका जिल्ला पहिलो र दोस्रो परीक्षण पास भएर औषधि रोकेका जिल्ला हुन्।’
रिमालका अनुसार दोस्रो चरणको परीक्षण गरिएका जिल्लामध्ये सबैभन्दा बढी सर्लाहीमा १२, रौतहट १५, महोत्तरी २१ र नुवाकोटमा १४ जना बच्चा संक्रमित भेटिएका थिए।
विश्व स्वास्थ्य संगठनले २०२० सम्ममा हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य लिएको छ। यही अनुसारले बढ्ने हो भने २०२० सम्ममा हात्तीपाइले रोग निवारण गर्न नसकिने रिमालले बताए।
हात्तीपाइले रोग के हो?
क्युलेक्स वा एनोफिलिसको पोथी लामखुट्टेको टोकाइबाट फाइलेरिया नामक परजीवीबाट यसको संक्रमण सुरु हुन्छ। लामखुट्टेको टोकाइबाट मानव शरीरको लिम्फ्याटिक प्रणालीमा असर गरेपछि त्यहाँ अस्वभाविक वृद्धि हुनु नै हात्तीपाइले रोग हो। लामखुट्टेले टोकेको १० वर्षपछि मात्रै यो रोगका लक्षण देखा पर्ने चिकित्सक बताउँछन्।
चिकित्सका अनुसार कामज्वरो आउने, जिउ वा टाउको दुख्ने, बान्ता हुने, अण्डकोष सुन्निने (हाइड्रोसिल), खुट्टा हात्तीको जस्तै हुने, हात सुन्निने, योनीद्वार वा स्तन सुन्निने यसका लक्षण हुन्।
विश्व स्वास्थ्य संगठनका अनुसार यस्तो रोगीमा फोक्सो सुन्निने, खोकी लाग्ने, दम बढ्ने र कहिलेकाहीँ खकारमा रगत देखिने हुन सक्छ। दम बढ्दा रोगी काम गर्न नसकेर हिँडडुल गर्न असमर्थ हुन सक्छन्।
संगठनका अनुसार ८१ राष्ट्रका १ अर्ब ३० करोड व्यक्ति हात्तीपाइले रोगको जोखिममा छन्। हाल १२ करोड व्यक्ति यो रोगबाट संक्रमित छन्। तीमध्ये करिब ४ करोड व्यक्ति रोगले गर्दा अपांग र अशक्त छन्।