काठमाडौं– लडेर देब्रे खुट्टा भाँचिएकी ६५ वर्षीया हजुरआमालाई झापाका २५ वर्षीय मुकेश लम्सालले राष्ट्रिय ट्रमा सेन्टरमा पु¥याए।
अस्पतालले उनलाई ल्याएकै दिन सुनिएको खुट्टा केही घट्यो भने दुई दिनपछि शल्यक्रिया गर्ने भनेको थियो। दुई दिन राख्दा पनि उनको हजुरआमाको सुनिएको खुट्टा नघटेकाले शल्यक्रिया बिहीबारको लागि सारियो। तर, बिहीबार पनि विभिन्न कारण देखाई शल्यक्रिया भएन।
अस्पतालले सोमबार अर्थात् हिजो शल्यक्रिया गर्ने भनेको थियो। शल्यक्रिया गर्ने भनेर चिकित्सकको सल्लाहअनुसार हजुरआमालाई आइतबार राति १२ बजेदेखि केही पनि नखुवाउन भनेको मुकेश बताउँछन्।
हजुरआमाको १० दिनपछि शल्यक्रिया हुने भएर उनी खुसी भएका थिए। तर, त्यो खुसी धेरैबेर टिक्न पाएन। बिहानै अस्पतालले चिकित्सहरुको आन्दोलनको कारण देखाउँदै हिजो हुने भनेको शल्यक्रिया हुन नसक्ने सूचना दिएको थियो।
मुकेशले अस्पताल प्रशासनलाई सोधे, ‘अब कहिले हुन्छ शल्यक्रिया?’ अस्पतालले डाक्टरहरु आन्दोलनमा भएकाले उनीहरुको माग पूरा नभएसम्म अप्रेसन हुन नसक्ने जवाफ दियो।
उनी निराश हुँदै भन्छन्, ‘अब कति दिन चल्ने हो यो आन्दोलन? झापादेखि आउनुभएकी हजुरआमालाई खाना खुवाउनै सास्ती भइसक्यो। जहाँ पायो त्यहीँको खाना खानुहुन्न।’
हजुरआमालाई शौचालय ल्याउन र लैजान पनि निकै सास्ती भएको मुकेश बताउँछन्। उनलाई लाग्छ, ‘सम्बन्धित पक्षले समस्या वार्ताबाट समाधान गर्नुपर्ने हो, यसरी अस्पताल नै बन्द गरेर त बिरामीले झनै सास्ती पाउँछन्।’
चिकित्सकको आन्दोलनका कारण शल्यक्रिया अनिश्चित हुँदा सास्ती खेप्ने उनी मात्रै होइनन्।
प्रेम धाना मेरुदण्डको रड निकाल्न भनेर सुर्खेतबाट काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टर आएको ९ दिन भयो। रुखबाट लडेर मेरुदण्ड भाँचिएकोले अपरेसन गरेर राखेको रड निकाल्न नेपालगञ्ज अस्पतालले काठमाडौं पठाएपछि उनी त्यहाँ आएका हुन्।
९ दिनपछि बल्ल पालो आएको थियो, तर चिकित्सकको आन्दोलनले गर्दा शल्यक्रिया गरेर रड निकाल्न पाएनन् उनले। ‘हिजो राति १२ बजेदेखि केही नखानु, भोलि ९ बजे शल्यक्रिया हुनसक्छ भनेर अस्पतालले भने पनि शल्यक्रिया हुन सकेन।’
कुर्न बसेकी उनकी श्रीमतीलाई झन् ठूलो सकस छ। भन्छिन्, ‘हामी सुर्खेतबाट आएका मान्छे, यहाँ त हाम्रो भाषा पनि मिल्दैन। बिरानो ठाउँ छ। बाहिर गएँ भने उतै हराउँछु।’
उनीहरु जस्तै ९ दिनदेखि नै कुरिरहेकी छिन्, गुरुजुधारकी सेती पौडेल। भान्सामा काम गर्दा लडेर खुट्टो भाँचिएर उनी यहाँ आइपुगेकी हुन्। सोमबार उनको शल्यक्रिया गर्ने पालो थियो तर आन्दोलनले गर्दा अनश्चित भयो। उनलाई आफूलाई कुर्ने मान्छे नभएकाले छिटो शल्यक्रिया गरेर घर जान पाए हुन्थ्यो भन्ने चिन्ता छ तर अब शल्यक्रिया कहिले हुने हो कुनै पत्तो नभएपछि निराश छिन्।
राष्ट्रिय ट्रमा सेन्टरले हरेक दिन माइनर र मेजर गरी १२ वटा शल्यक्रिया गर्ने गरेको रेकर्डमा उल्लेख छ। त्यस्तै वीर अस्पतामा करिब २० देखि २५ ओटा मेजर र माइनर शल्यक्रिया गरेको अस्पतालको रेकर्डमा उल्लेख छ।
कर्मचारी समायोजनका विषयमा असहमति जनाउँदै आएका सरकारी चिकित्सकहरुले देशभरका सरकारी स्वास्थ्य संस्थाका आकस्मिक बाहेका सबै सेवा ठप्प पारेका छन्। चिकित्सकको आन्दोलनले गर्दा लामो समयदेखि लाइनमा बसेर शल्यक्रिया गर्ने पालो आएका बिरामीहरु मर्कामा परेका छन्।
ओपिडीमा खुट्टो हाल्ने ठाउँ नहुने राष्ट्रिय ट्रमा सेन्टर र राष्ट्रिय चिकित्सक विज्ञान प्रतिष्ठान ‘वीर’ अस्पतालमा पनि आन्दोललको कारणले गर्दा ओपिडी सुनसान देखिन्छन्। ट्रमा सेन्टरले ओपिडीमा दैनिक १२ सयभन्दा बढी बिरामीलाई सेवा दिन्थ्यो भने वीर अस्पतामा करिब १४ सयको हाराहारी बिरामीले ओपिडीमा सेवा दिने गरेको रेकर्डमा उल्लेख छ।
सरकारले खटाएको ठाउँमा नजानेलाई नियमअनुसार कारबाही गर्ने चेतावनी दिएको छ। चिकित्सक संघका अध्यक्ष डा दीपेन्द्र पाण्डेले भने आफ्ना माग पूरा नभएसम्म पछि नहट्ने बताउँदै आइरहेका छन्। यसले उपचारको पालो पर्खिरहेका बिरामीमा झन् ठूलो अन्योल छाएको छ।